गत माघ २८ गते सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको सेनाको ट्रक कपुरकोट गाउँपालिका वडा नं. ३ स्थित चोरखोलामा दुर्घटना हुँदा घाइते भएका एक सेनाको उपचारको क्रममा मृत्यु भएको छ।
ललितपुर इमाडोल निवासी ३३ वर्षीय मेजर ईश्वर सिलवालको उपचारका क्रममा सोमबार दिउँसो काठमाडौंस्थित नेपाली सेनाको छाउनी हस्पिटलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए।
सल्यानको सिमखर्क सवुज गणबाट हातहतियार र बन्दोबस्तीका सामानसहित बुटवल जान हिँडेको लु १ त १२३ नम्बरको ट्रक दुर्घटनमा परी सोही दिन सेनाका एक जमदार यादव धरेलको मृत्यु भएको थियो।
उक्त दुर्घटनाका घाइतेमध्ये ५ जना सेनानी जयप्रकाश बोहरा, मोहन थापा, सिपाहीहरू विशाल गुरुङ, रेशम मगर, विपिन श्रेष्ठ घाइते भएका छन्।
उनीहरू सबैलाई दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको उपचारपछि थप उपचारको लागि सेनाले हेलिकप्टरमार्फत् सोही दिन थप उपचारका लागि काठमाडौं पुर्याएको हो।
सल्यानका प्रहरी प्रमुख खतिवडाले ब्रेक फेल भएका कारण उक्त ट्रक दुर्घटनामा परेको हुन सक्ने अनुमान भइरहेको जानकारी दिए।