काठमाडौंको बबरमहलमा ८ वर्षअघि भएको बम विस्फोटका दोषी मकवानपुर पदपोखरी पानतलेका संयुक्त जातीय मोर्चाका नेता बुद्धिबहादुर गोले रिहा भएका छन्।
प्रजातन्त्र दिवसको अवसरमा गृह मन्त्रालयको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गोलेको कैद सजाय मिनाहा गरेकी हुन्।
राष्ट्रपति भण्डारीले गोलेसहित ३ सय २९ जना कैदीको कैद सजाय मिनाहा गरेकी हुन्।
राष्ट्रपतिले कैद सजाय मिनाहा गरेकी गोले २०६८ साल फागुन १५ गते बबरमहलमा भएको बम विस्फोट गर्ने समूहको कोर सदस्य हुन्।
उनलाई सर्वोच्च अदालतले २०७३ साल जेठ ३२ गते १५ वर्षको जेल सजाय सुनाएको थियो।
जगन्नाथदेवल कारागारमा कैद भुक्तान गरिरहेका ६७ वर्षीय गोलेलाई सरकारले छाड्नका लागि सिफारिस गरेको थियो। कुनै कैदीले सजायको आधा भुक्तान गरेपछि उसको चालचलन र व्यवहारको आधार जेलर बाँकी कैद सजाय मिनाह गर्नसक्ने व्यवस्था छ।
विष्फोटमा परी धादिङ बैरेनीका २२ वर्षीय कृष्णबहादुर तामाङ र ७० वर्षीय वीरबहादुर लामाको घटनास्थलमै मृत्यु भएको थियो। सात जना घाइते भएका थिए।
संयुक्त जातीय मुक्ति मोर्चाका प्रवक्तासमेत रहेका विश्वक्रान्तिसहित एक दर्जनभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको थियो।
बम विस्फोट गर्नका लागि उपत्यकामा मोर्चाले गोलेलाई खटाएको थियो। उनले एक महिनाअघि नै बम विस्फोट गर्ने स्थानको रेकी गर्नुको साथै सिनामंगलस्थित कोठामा योजनाहरू बनाउने गर्दथे।