हात्तिसारमा उत्खनन् गर्दा भेटिएको पुरातात्विक हिति (ढुंगेधारा) संरक्षण नगरी घर बनाउन छुट दिएको भन्दै अभियन्ताहरूले आपत्ति जनाएका छन्।
जयनेपाल हलबाट कृष्ण पाउरोटीतर्फ कित्ता नम्बर २६६३ र २६६४ को उक्त जग्गा बुद्धलक्ष्मी गुरुङको नाममा छ। जग्गा उत्खनन् गर्दा पुरातात्विक हिति भेटिएपछि अभियन्ताहरू संरक्षणमा लागेका थिए। तर, सरोकारवाला निकायहरूले कुनै चासो नदिएको अभियन्ता यादवलाल कायस्थ बताउँछन्।
उनका अनुसार २०५२ सालतिरै यहाँको जग्गामुनि हिति छ भन्ने स्थानीयलाई थाहा थियो। त्यति बेला सार्वजनिक स्वामित्वको यो जग्गा निजी स्वामित्वमा लगेर घर निर्माण गर्न लग्दा स्थानीयको विरोधपछि रोक्का गरियो।
'यसपालि फेरि त्यही नियति दोहोरिएको छ,' उनले सेतोपाटीसँग भने।
अभियन्ताहरूले हिति उत्खनन् गर्न २०७६ भदौतिर पुरातत्व विभाग, काठमाडौं महानगरपालिका र वडा कार्यालयमा निवेदन दिएका थिए। 'त्यही समय घर बनाउन नक्सा पास गरिएको रहेछ। जग्गाधनीले एकपटक छलफल पनि नगरी खन्न सुरू गर्यो। रातिराति डोजरले खनेको थाहा पाएपछि हामीले तत्कालै गएर काम रोक्यौं,’ कायस्थले भने।
अभियन्ताहरू त्यसपछि फेरि पुरातत्व विभाग गए। उत्खनन् निम्ति घच्घचाए। विभागकै उद्धव आचार्यको रोहवरमा छ दिनसम्म खनियो। करिब २० फिटमुनि हितिको संरचना भेटियो। पुराना इँटा फेला परे, तर टुटी फेला परेन।
पुरातत्वले टुटी फेला नपरेपछि उत्खनन् गरिएको संरचना पुरेर घर निर्माण अघि बढाउन अनुमति दियो।
‘पुरातात्विक संरचना भेट्दा पनि हिति छैन भन्दै पुरातत्वले नै पुर्ने रिपोर्ट दिनु निन्दनीय र कानुनविपरीत हो। पहिले रोक्का भइसकेको काम फुकुवा गर्नु हितिको अस्तित्व नामेट पार्नु हो,’ कायस्थ भने।
केही दिनअघि कायस्थ र सम्पदा अभियन्ताहरू फेरि पुरातत्व विभागको ध्यानाकर्षण गराउन गए। विभागका महानिर्देशक दामोदर गौतमले पुराना संरचनाको महत्व र हितिको विषयमा संवेदनशील रहेको बताउँदै भने, ‘यो विषयमा प्राविधिक साथी र हामी बसेर पुनः ध्यानाकर्षण गर्छौं। यसको विकल्प के हुनसक्छ हेर्छौं।’
उनले यसो भनिरहँदा यता हिति भएको जग्गामा घरको जग खन्ने काम धमाधम भइरहेको कायस्थ बताउँछन्।
‘वडामा जाँदा पुरातत्वले हेर्छ भन्छ, पुरातत्व गयो महानगर, महानगरमा गयो फेरि पुरातत्व देखाउँछ,' उनले भने, 'हामीले हात्तिसार हिति ब्युँताउन नागरिक स्तरबाट यत्रो प्रयास गर्दा पनि कसैले कुरा सुनेनन्।'