फोर्स गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएपछि दुई दिनदेखि तनावग्रस्त बनेको सुर्खेतको छिन्चु बजार बिहीबार साँझदेखि खुलेको छ।
पीडित परिवार, गाडी साहु र यातायात व्यवसायीबीच बिहीबार सहमति भएपछि आन्दोलन स्थगित भएको हो।
भेरीगंगा नगरपालिका–१२ छिन्चुमा फोर्स गाडीले मंगलबार ठक्कर दिँदा भेरीगंगा–४ का राजु बोहराको मृत्यु भएको थियो।
मृत्युपछि बोहराका आफन्तले उचित क्षतिपूर्तिका मागसहित आन्दोलन गरेका थिए। मृतकका आफन्तले मंगलबार र बुधबारसम्म छिन्चु बजारसँगै सवारी साधन ठप्प पारेका थिए। सडक बन्द गराउँदा जुम्ला, कालिकोट, सुर्खेत, दैलेख, जाजरकोटबाट छिन्चु हुँदै बाहिरिने र भित्रिने यात्रुबीच बाटोमै अड्किएका थिए।
छिन्चु बजारमा मंगलबार राति साढे ८ बजे सडक छेउमा हिँडिरहेका बोहरालाई गाडीले हानेको थियो। ठक्करपछि घाइते भएका बोहराको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो।
आफू सवार मोटरसाइकल रोकेर कुरा गरिरहेको अवस्थामा बा ३ ख ६३५२ नम्बरको फोर्स गाडीले ठक्कर दिएको थियो।
बिहीबार वार्ताका क्रममा मृतकका आफन्तलाई कानुनबमोजिम क्षतिपूर्ति दिने सहमति भएको मृतक बोहराका भाइ वीरेन्द्र वलीले जानकारी दिए।