धादिङ बेनिघाट रोराङ गाँउपालिका-९ ज्यामिरेघाटस्थित पृथ्वी लोकमार्गमा सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
आइतबार बिहान सवा तीन बजे वीरगञ्जबाट बनेपातर्फ जाँदै गरेको ना ५ ख ३७७७ नं. को शालिमार सिमेन्ट बोकेको ट्रकको टायर पड्किएको थियो।
टायर पड्किएर अनियन्त्रित भई सडकबाट सय मिटर तल त्रिशूली नदीमा खस्दा मकवानपुर भिमफेदी गाँउपालिका-२ भैसे बस्ने ४६ वर्षका बिखे थोकरको मृत्यु भएको हो।
चालक थोकरको उद्धार गरी उपचारका क्रममा मृत्यु भएको थियो भने ट्रकमा सवार सहचालक सप्तरी रुपनगरका १८ वर्षका राजेश विक घाइते भएका थिए।
सहचालकको उपचार लागि गजुरी अस्पतालमा लगिएको र उनको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
चालक थोकरको शव प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा राखिएको जनाइएको छ।
थप अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।