सामाजिक सञ्जालमा एक नवजात शिशुको तस्वीर यतिबेला भाइरल भइरहेको छ।
शिशुलाई डाक्टरले रुवाउन खोज्दा उसले बनाएको अनुहारको प्रतिक्रिया कैद तस्वीरले अहिले चर्चा पाएको हो।
फेब्रुअरी १३ तारिखका दिन इसाबेला परेइरा दि जेससको जन्म ब्राजिलको रियो दि जनेइरो अस्पतालमा अपरेसनबाट भयो।
फोक्सोले काम गरेको छ/छैन जाँच्न प्रसूती चिकित्सकले उनलाई रुवाउन खोज्छन्। तर रुनुको सट्टा उनले अनौठो अनुहार बनाइन्। तस्वीर हेर्दा उनी रिसाएकी जस्तो देखिन्छ।
आमा डेनी दि जेसस बरबोसाले इसाबेला जन्मेपछिको फोटो खिच्न स्थानीय फोटोग्राफर रोडरिगो कुनस्टमानलाई जिम्मा दिएकी थिइन्। रोडरिगोले नै शिशुको आश्चर्य लाग्दो प्रतिक्रियासहितको तस्विर कैद गरेका थिए।
फोटोग्राफर रोडरिगोका अनुसार प्रसूती चिकित्सकले शिशुको नाभी काट्नुअघि नै रुवाउन खोजेका थिए। 'उनले आँखा उघारेर हेरिन्, तर रोइनन्,' उनले भने, 'डाक्टरले इसा रोऊ समेत भने। उनले गम्भीर प्रतिक्रिया देखाइन् र नाभी काटेपछि मात्रै रुन थालिन्।'
शिशु जन्म एक अदिव्तीय क्षण भएको र यो रकर्ड गर्न योग्य भएको उनले बताए।
उनले इसाबेलाको १० महत्वपूर्ण तस्वीर खिचेका छन् जसमा उनको महत्वूर्ण क्षण कैद छन्।
उनको पहिलो रोदनसहितको तस्विर रोडरिगोले आफ्नो सामाजिक सञ्जालमा समेत राखेका छन्।
इसाबेलाकी आमाले भाइरल भएको उक्त तस्वीरले उनी अहिले नै साहसी भएको जनाएको बताइन्।
'मेरी छोरी जन्मजात साहसी छिन्,' समाचार संस्था जिवानलाई उदृत गर्दै डेनीले भनिन्।
'उनको तस्वीर अहिले नै मिम भइसक्यो। उनी ड्राइपर बदल्दा र हेरचाह गर्दा जहिल्यै निधार खुम्चाउँछिन्,' उनले भनिन्, 'इसाबेला २० तारिखका दिन जन्मनु पर्ने हो, तर उनी आफैंले जन्मने दिन छनोट गरिन् र आफ्नो व्यक्तित्व प्रस्तुत गरिसकेकी छिन्।'