सूर्यविनायक–जडिबुटी सडकखण्डमा निजी र सार्वजनिक तथा मालवाहक सवारीसाधनको छुट्टाछुट्टै लेन हुने भएको छ।
आउँदो १४ गते बुधबारदेखि सुर्यविनायक–जडिबुटी सडक खण्डमा यात्रुवाहक, मालवाहक र कम गतिमा गुड्ने सवारीसाधन बायाँ लेनबाट र निजीको लागि दाहिने लेन मात्र चलाउन पाइने छ।
आइतबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार उपत्यकाको सवारी आवागमनलाई सहजता ल्याउन तथा सवारी दुर्घटना न्यूनीकरण गर्न यस्तो निर्णय भएको हो।
प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठको अध्यक्षतामा गठित सुझाव समितिले सूर्यबिनायक जडीबुटी सडक खण्डको अनुगमन गरी तत्काल उक्त सडकखण्डको ट्राफिक व्यबस्थापनमा सुधार गर्न निजी तथा सार्वजनिक सवारीसाधनलाई छुट्टाछुटै लेन बनाउन सुझाव दिएको थियो।
समितिको उक्त सुझावलाई तत्काल कार्यान्वयन गर्न ट्राफिक प्रहरी, सडक विभाग, यातायातसँग समन्वय गरी तोकिएको लेन प्रयोगलाई कार्यान्वयन गरिने विज्ञप्तिमा उल्लेख छ।
साथै लेन कार्यान्वय गराउन पुर्व प्रहरी निरीक्षक सिताराम हाछेथुको संयोजकत्वमा यातायात र सडक विभाग भक्तपुरका प्रतिनिधी सम्मिलित ६ सदस्यीय अनुगमन समिति समेत गठन भएको छ।