अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रहरी चौकी टिमुरे रसुवाका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसमेत १६ जना प्रहरी निलम्बन गर्न प्रहरी प्रधानकार्यालयलाई सिफारिस गरेको छ।
ती प्रहरीले बरामद सुन बाँडिचुँडी लिएको र सोको प्रमाण नष्ट हुन सक्ने सम्भावना देखेपछि अख्तियारले उनीहरूलाई निलम्बन गर्न भनेको हो।
सीमा प्रहरी चौकी टिमुरेको कार्यालय परिसरभित्र केरुङबाट नेपाल आउँदै गरेको ना६ख ४९३२ नं.को कन्टेनर चेकजाँच गर्ने क्रममा पुस ११ गते चालक फुर्वा पासाङको साथबाट ४२२ ग्राम सुन लिई चालकलाई छोडिएको थियो।
उक्त सुन आवश्यक कानूनी प्रकृयाको लागि सम्बन्धित निकायमा बुझाउनु पर्नेमा आपसमा बाँडफाँड गरी खाई मासेको भन्ने सम्बन्धमा अख्तियारबाट अनुसन्धान भइरहेको अवस्थामा उक्त कार्यमा संलग्न व्यक्तिहरु पदमा बहाल रहँदा आफू विरुद्धको प्रमाण नास गर्न सक्ने देखिएपछि निलम्वन गर्न प्रहरी प्रधान कार्यालयलाई अख्तियारले पत्र पठाएको हो।
निलम्बन सिफारिस हुनेहरूमा इन्स्पेक्टर खेम प्रसाद नेपाल, प्रहरी नायव निरीक्षक भोज बहादुर सेन वली, सहायक निरीक्षक रामशरण कुमाल, प्रहरी हवल्दारहरू रामशरण रिमाल, पुरुषोत्तम खत्री, रामकाजी लामा, गोपीबहादुर लो तामाङ रहेका छन्।
त्यस्तै प्रहरी जवानहरु शिव नारायण चौधरी, युवराज खरेल, भविलाल रुम्बा लामा, रामचन्द्र विक, रिता चौधरी, मनोज आले, छेक्यु डोल्मा मोक्तान
तारा बहादुर प्रजा र सहायक हरी बहादुर श्रेष्ठ पनि निलम्बन गर्न आयोगले भनेको छ।
*सच्याइएको