अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले सेवाग्राहीसँग घुस लिँदै गर्दा रुपन्देहीमा दुईजनालाई पक्राउ गरेको छ।
अख्तियार बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालका अनुसार रुपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नं. ५ का अध्यक्ष श्रवणकुमार यादव र उच्च अदालत बुटवल इजलासका सरकारी वकिल कार्यालय सहयोगी महेन्द्र यादव घुस सहित पक्राउ परेका हुन्।
जग्गाको चार किल्लाको सिफारिस बनाइदिने भन्दै वडाबासीसँग ७० हजार रुपैयाँ लिँदै गर्दा वडा अध्यक्ष यादवलाई अख्तियारको कार्यालयले पक्राउ गरेको हो।
त्यस्तै बन्दी प्रत्यक्षीकरणका नाममा १५ हजार घुस लिँदै गर्दा सरकारी वकिल कार्यालयका सहयोगी यादव पक्राउ परेको अख्तियारको बुटवल कार्यालयले जनाएको छ।
उनीहरु दुवै जनालाई अलग अलग स्थानबाट पक्राउ गरिएको र दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रवक्ता भुसालले बताए।