सरकारले आउँदो शैक्षिक सत्र पनि तामझामसहित विद्यार्थी भर्ना अभियान गर्ने भएको छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयमा भर्ना गराउन मद्दत पुग्ने सन्देशमूलक गीत रचना गरी पठाउन आह्वान गरेको छ।
केन्द्रले विद्यार्थी भर्ना अभियान दिवसका उपलक्ष्यमा विद्यालय उमेरका सबै बालबालिकालाई विद्यालयमा भर्ना गराउन र टिकाउन मद्दत पुग्ने सन्देशमूलक गीत पठाउन भनेको हो।
केन्द्रले शुक्रबार सूचना प्रकाशित गरेर भनेको छ- इच्छुक सबैले सरल शब्द, छोटो हरफ र लोक आधुनिक लयमा आधारित गीत रचना गरी फागुन २५ गतेभित्र पठाउनू।
प्राप्त गीतहरूमध्ये उत्कृष्ट प्रथम, द्वितीय र तृतीयालाई क्रमशः १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ।
छ देखि आठ हरफभित्र सीमित हुनुपर्ने तथा गति, यति र लय सरल र सहज हुनुपर्ने बताइएको छ।
गीत रचना सिधै केन्द्रको प्रारम्भिक बालविकास शाखामा वा इमेल ramaaryal133@gmail.com वा dhansudan2030@gmail.com मा पठाउन सकिन्छ।