महानगरीय ट्राफिक प्रहरी माहाशाखाले सार्वजनिक सवारीसाधनमा आरक्षण सिटमा सम्बन्धित मान्छे राखे/नराखेको चेकजाँच गर्न दुई महिला ट्राफिक प्रहरी खटाएको छ।
महाशाखाले आइतबारदेखि सार्वजनिक सवारीसाधनमा चेकजाँच गर्न स्कुटरमा दुई जना महिला ट्राफिक प्रहरी परिचालन गरेको हो। त्यस्तै जेष्ठ नागरिक तथा विद्यार्थीले पाउने छुट दिए/नदिएको तथा सिटमा लेखिए पनि अस्पष्ट तथा केरमेट भएको विषयमा पनि अनुगमन गर्ने महाशाखाले जनाएको छ।
सार्वजनिक सवारीसाधनमा यात्रुहरुले भोग्न परेको समस्याबारे सुनुवाई गर्न आरक्षण सिट अनुगमन टोली खटाईएको महाशाखाका प्रमुख तथा एसएसपी भिमप्रसाद ढकालले बताए।
'सार्वजनिक यातायात प्रति सबैको अपनत्व महशुस गर्न र आफ्नो अधिकारबाट वञ्चित भएकालाई सहयोग गर्न यो टोली परिचालन गरिएको हो,' एसएसपी ढकालले भने।
परिचालित ट्राफिक प्रहरीले दैनिक ५० भन्दा बढी सार्वजनिक सवारीसाधनहरुमा अनुगमन गर्ने महाशाखाका प्रवक्ता तथा एसपी जिवनकुमार श्रेष्ठले जानकारी दिए।
उक्त टोलीले आइतबारदेखि नै उपत्यकाका विभिन्न स्थानमा गई अनुगमन गर्ने जनाएको छ।