काठमाडौँको तार्केश्वर नगरपालिका वडा नम्बर २ मा दुर्घटनामा परेको सरकारी गाडी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रहेको खुलेको छ।
शनिबार राति बिजुलीको पोलमा ठोक्किएर बा१झ ६६५८ नम्बरको गाडी दुर्घटनामा परेको थियो। गाडीको ठक्करबाट बिजुलीको पोल भाँच्चिएको छ। गाडीमा को-को थिए भने खुलेको छैन।
उक्त गाडी मन्त्रालयका सहसचिव इन्द्रमणि पोखरेलले चढ्ने गरेको महानगरीय प्रहरी वृत बालाजुका असई भरत गिरीले जानकारी दिए।
'सहसचिव सर चढ्ने गाडी दुर्घटनामा परेको रहेछ,' असईले गिरीले सेतोपाटीसँग भने, 'चालक शेषमान तामाङ सम्पर्कमा आइसकेका छन्।'
दुर्घटना भए लगत्तै चालक तामाङ फरार थिए। चालकले मापासे गरेर गाडी चलाएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।
महानगरीय प्रहरी वृत्त वनस्थलीले उक्त गाडीलाई नियन्त्रणमा लिएको छ। दुर्घटना बारे थप अनुसन्धान भइरहेको छ।