काठमाडौंमा लकडाउन जारी भएको समयमा पेप्सीकोलास्थित एक कस्मेटिक पसलमा चोरी भएको छ।
बुधबार राति पेप्सीकोलाको एक कस्मेटिक पसलबाट करिब ४० हजार बराबरको नगद तथा सामान चोरी भएको काँडाघारी प्रहरीले जनाएको छ।
'अस्ति कस्मेटिक पसलमा चोरी भएको भन्दै हिजो आउनुभएको थियो,' महानगरीय प्रहरी प्रभाग काँडाघारीका इन्स्पेक्टर रूपेन्द्रनारायण श्रेष्ठले भने,'काउन्टरमा राखिएको नगद र कस्मेटिक सामान गरी करिब ४० हजार बराबरको चोरी भएको हो।'
पसलका व्यापारीले बिहीबार आफ्नो पसलमा चोरी भएको थाहा पाएपछि प्रहरी कार्यालयमा उजुरी दिन पुगेका थिए।
यस घटनाले प्रहरीलाई थप चनाखो बनाएको इन्स्पेक्टर श्रेष्ठले बताए।
'राति समस्या देखाएर हिँडे पनि हामीले थप गम्भीरताका रूपमा लिएका छौं,'उनले भने।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।