सिंगापुर सरकारले सामाजिक दूरी कायम नगर्नेलाई जेल सजाय र जरिवाना तिराउने भएको छ।
शुक्रबारदेखि लागू भएका कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका नियमहरूको पालना नगरी दुई व्यक्तिबीच सार्वजनिक स्थानमा १ मिटरभन्दा कम दूरी कायम गरे सजाय हुने भएको हो।
सिंगापुरको स्वास्थ्य मन्त्रालयले सरूवा रोग ऐनअन्तर्गत दुई जनाबीचको दूरी कायम गर्ने नियमको पालना नगरे छ महिना जेल र १० हजार सिंगापुर डलर ( आठ लाख ४३ हजार रुयैयाँ) जरिवाना हुन सक्ने बताएको छ।
नयाँ नियमअनुसार कार्यालय वा विद्यालयबाहिर १० जनासम्म मात्रै भेला हुन पाउनेछन्। यसरी भेला हुँदा पनि एकअर्कासँग एक मिटरको दूरीमा बस्न पर्ने च्यानेल न्युज एसियाले बताएको छ। यो नियम सुपरमार्केट, रेस्टुरेन्ट र सपिङमलमा पनि लागू हुने बताइएको छ।
ती ठाउँका मालिक तथा कार्यक्रम सञ्चालकले कर्मचारीहरू बस्ने सिट पनि एक-एक मिटरको फरकमा बनाउनु पर्नेछ।
त्यस्तै सार्वजनिक स्थलहरूमा पनि लाइनमा बस्दा पनि एक मिटरको दूरी कायम गर्नु पर्ने नयाँ नियममा उल्लेख गरिएको छ।
सिंगापुरमा अहिलेसम्म ६ सय ८३ जनामा कोरोनाको संक्रमण देखिएको छ भने २ जनाको मृत्यु भएको छ।
सुरूदेखि नै रोकथामका सबै मापदण्ड कडाइका साथ पालना गरेकाले सिंगापुरमा कोरोनाको संक्रमणलाई सरकारले नियन्त्रणमा राखेको छ।