लकडाउन उलंघन गर्दै जुवातास खेलेको आरोपमा गोरखा प्रहरीले पालुङटारबाट छ जनालाई पक्राउ गरेको छ।
पालुङटार नगरपालिका वडा नम्बर ३ लामोगराको एक घरमा जुवातास खेलिरहेका उनीहरूलाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरूको साथबाट ६४ हजार दुई सय ८० रूपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ। तास खेल्नेहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन।
केही दिनअघि छेपेटारबाट पनि तास खेलिरहेकाहरू पक्राउ परेका थिए।
जिल्ला प्रशासन कार्यालय गोरखाले खाद्यान्न, औषधिलगायत अत्यावश्यक सेवाबाहेकका पसलहरू सञ्चालन नगर्न आग्रह गरेको छ। लकडाउनका बेला घरमै बस्न प्रशासनले आग्रह गरे पनि मठ मन्दिर जाने, खसी, बोका, भेडा, भैंसी काटेर खाएको पाइएको भन्दै प्रशासनले कडा कारबाही गर्ने जनाएको छ।
प्रशासकीय अधिकृत गणेशप्रसाद भट्टराईले सूचना निकालेर निषेध आदेशको पूर्ण कार्यान्वयन गरिने उल्लेख गरेका छन्। अनावश्यक जमघट भएको पाइए कानुनअनुसार कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।