बुटवल उपमहानगरपालिकाले अति विपन्न परिवार र मजदुरी गरी दैनिक गुजारा चलाउँदै आएकालाई राहत वितरण गर्ने भएको छ।
मंगलबार बसेको नगर कार्यपालिकाको बैठकले अति विपन्न परिवारलाई प्रति परिवार १५ के.जी चामल, २ के.जी दाल, १ प्याकेट नुन र १ लिटर तेल उपलब्ध गराउने निर्णय गरेको हो।
उपमहानगरपालिकाका टोल विकास संस्थाको सिफारिस र वडा समितिबाट प्रमाणिकरण भएका परिवारलाई राहत प्रदान गर्ने नगरप्रमुख शिवराज सुवेदीले जानकारी दिए। टोल विकास संस्था र वडा कार्यालयले लिएको प्रारम्भिक तथ्याङ्क अनुसार उपमहानगरपालिकाका १९ वटा वडामा ६ हजार ५ सय अति विपन्न परिवार छन्।
लक डाउनका कारण लामो समय काम गर्न नपाउँदा विपन्न परिवार भोकै बस्नुपर्ने अवस्था आएकोले राहत वितरण गर्न लागिएको सुवेदीले जानकारी दिए।
उपमहानगरपालिकाले करिव २ करोड रुपैयाँ राहत वितरणको लागि छुट्याएको जनाएको छ।
उपमहानगरकार्यपालिकाको बैठकले राहत सामग्री वितरण सम्बन्धी कार्यविधि पास गरिसकेको र त्यही आधारमा राहत वितरण गरिने जनाएको छ। उपमहानगरपालिकाले ल्याएको प्रारम्भिक तथ्याङक अनुसार सवैभन्दा बढि वडा नं. ११ मा २५ सय विपन्न तथा मजदुर परिवार छन्। सबैभन्दा कम वडा नं. १८ मा १ सय विपन्न परिवार छन्।
त्यस्तै उपमहानगरपालिका भित्र रहेका अपाङग, अनाथ तथा मानवसेवा आश्रममा आश्रय लिंदै आएका प्रति व्यक्ति ३ के.जीका दरले चामल र अन्य राहत उपलब्ध गराउने उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए। उपमहानगरपालिकाभित्र विभिन्न आश्रम तथा आश्रय स्थलमा साढे दुईसय भन्दा बढी व्यक्तिहरुले आश्रय लिंदै आएका छन् ।