कोरोनाभाइरस संक्रमणको रोकथामका निम्ति कोरोना नियन्त्रण सहकारी केन्द्रको स्थापना गरिएको छ।
६३ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाद्वारा सञ्चालित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भूमा कोरोना नियन्त्रण सहकारी केन्द्रको स्थापना गरिएको हो।
राष्ट्रिय सहकारी महासंघको नेतृत्वमा स्थापना भएको उक्त केन्द्रलाई बिहीबार एक कार्यक्रमकाबीच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले उद्घाटन गरेकी छन्।
सहकारी सेवामूलक संस्था हो भन्ने पहिचान दिने अवसर भएको भन्दै मन्त्री अर्यालले सहकारी दिवसका दिन कोरोना उपचार केन्द्रको स्थापना गरिएको बताइन्।
'सहकारीद्वारा सञ्चालित अस्पताललाई अधिकतम् प्रयोग गर्ने, केन्द्रीय स्तरमा कोरोना रोकथाम केन्द्र स्थापना गर्ने लक्ष्यका साथ यो अस्पताल छनोट गरिएको हो', मन्त्री अर्यालले भनिन्, 'सहकारीहरू जनताकै घरदैलोमा पुगेर सेवा दिने संस्था हुन्। देश संकटमा परेको बेला सहकारीले आफ्ना सदस्यमार्फत् कोरोनाबाट नआत्तिन, सचेत रहन, सम्भावित जोखिम पहिचान गर्न जनतालाई सहयोग गर्न सक्छन् र गरिरहेका पनि छन् । त्यसैको उदाहरण यो केन्द्रको शुभारम्भ हो।'