जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतबाट भागेका तीन जना थुनुवालाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ। बिहीबार बिहान हिरासतको झ्याल उप्काएर भागेका तीन जालाई बिहीबार बेलुका नै प्रहरीले नियन्त्रण्मा लिएको हो।
बिहानदेखि खोजी गर्न परिचालित प्रहरी टोलीले बेलुका तीनै जनालाई छुट्टाछुट्टै स्थानबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए।
उनका अनुसार हिरासतबाट भागेका वीरेन्द्रनगर–६ का सन्दीप कसेरालाई भेरीगंगा नगरपालिका-२ सप्तरीबाट , वीरेन्द्रनगर–६ कै रोशनराज रेग्मीलाई भैरवस्थानबाट र वीरेन्द्रनगर–३ का सुनिल थारुलाई न्युरोडबाट नियन्त्रणमा लिइएको हो।
उनीहरूलाई सजाय थप हुने रायमाझीले बताए।
तीनै जना लागुऔषध ओसारपसार तथा कारोबार अभियोगमा पक्राउ परेका थिए। कसेरा २०७६ फागुन २५ गते पक्राउ परेका थिए भने सुनिल थारु चैत १६ गते पक्राउ परेका थिए। रेग्मी २०७६ साउन १६ गते पक्राउ परेका थिए ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतबाट झ्याल उप्काएर थुनुवा भागेपछि छानबिन गर्न समिति गठन गरेको थियो। कर्णाली प्रदेश प्रहरी कार्यालयले बिहीबार पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो।
दंगा नियन्त्रण प्रहरी गणमा कार्यरत प्रहरी उपरीक्षक भोला रावलको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिए।
छानबिन समितिको सदस्यहरूमा प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिना, प्रहरी निरीक्षक सुरज खड्का, प्रहरी नायब निरीक्षक अमर रावत र प्रहरी सहायक निरीक्षक प्रेम शर्मा रहेका छन्।
समितिले हिरासतबाटै थुनुवा भाग्नुमा कसको गल्ती वा कमजोरी भन्नेबारेमा छानबिन गर्नेछ ।
प्रहरी नायब उपरीक्षक तिम्सिनाका अनुसार पाँच दिनभित्र यसबारे प्रतिवेदन बुझाइसक्न निर्देशन जारी गरिएको छ। थुनुवा झ्याल नै उप्काएर भाग्दा पनि प्रहरीले भने बिहान मात्र थाहा पाएको थियो। यसै विषयमा छानबिन गर्न समिति गठन गरिएको डिएसपी तिम्सिनाले बताए।