वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ रामगढवाको वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको छ।
आगजनीबाट वडा कार्यालयमा रहेको कम्प्युटर आवश्यक कागजात र फर्निचर पूर्णरूपले जलेर नष्ट भएको छ भने सो समूहले विद्युतीय मोटर,पंखा हिटर लगायतका सामान चोरेर लगेको वडा अध्यक्ष दशरथ प्रसाद कुर्मीले बताए।
राहत वितरण सम्बन्धमा आज बिहान सर्वदलीय बैठक बोलाएपछि सो कार्यालयमा पुग्दा बिहानसम्म आगलागी भइरहेको प्रत्यक्षदर्शीले जानकारी दिए।
यसअघि सो कार्यालयमा दुई पटक आगजनी भइसकेको छ।
आगो लगाउने समूहहरूको खोजी भइरहेको पर्साका प्रहरी प्रवक्ता वीरेन्द्र शाहीले बताए।