दार्चुलापारि भारतीय भूमिमा रहेका नेपालीहरू दिनदिनै महाकाली नदी तरेर नेपाल प्रवेश गरिरहेका छन्।
लकडाउनका बेला सीमा बन्द रहेको र झोलुंगे पुल पनि बन्द भएपछि भारतका विभिन्न ठाउँबाट घर आउन हिडेका सात सयभन्दा बढी नेपाली दार्चुलापारि दार्चुलामा रोकिएका हुन्।
सरकारले सीमा नखोल्ने र प्रवेश गर्न नदिने बताएपछि महाकाली नदीमा पौडी खेलेर नेपाल आउनेहरू दिनदिनै बढेका छन्।
चार दिनको बीचमा ५३ जना नेपालीहरू महाकालीमा पौडी खेलेर दार्चुला प्रवेश गरेका हुन्। उनीहरूलाई क्वारेन्टाइनमा राखिएको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीका अनुसार महाकालीमा पौडी खेलेर र लुकीछिपी अन्यत्रबाट आएकालाई क्वारेन्टाइनमा राखिएको छ।
धार्चुलामा रहेका नेपालीहरूले नेपाल प्रवेश गर्न पाउनुपर्ने माग राखेर केही दिनअघि नाराबाजी पनि गरेका थिए। नाका नखोलेपछि पहिलोपटक गत सोमबार तीन नेपाली पौडिएर नेपाल आएका थिए।
भारतीय भूमिमै रोकिएका नेपालीहरू पिठौरागढको विभिन्न स्थानमा छन्। खाने बस्ने व्यवस्था भारत सरकारले गरिदिएको छ।