बुटवल उपमहानगरपालिकाले नगरभित्रका सडकमा क्लोरिन झोल र ब्लिचिङ पाउडर मिश्रित औषधि छर्किने काम सुरु गरेको छ।
तीन दिनमा उपमहानगरपालिका भित्रका सडकमा क्लोरिन छर्किने काम सकिने उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिए। क्लोरिन छर्किँदा सडक किनारमा टाँसिएर रहेका किटाणु मर्नेछन्।
४५ सय लिटर क्षमताका दमकलमार्फत सडक र पेटीमा क्लोरिनयुक्त पानी छर्किने काम भइरहेको उपमहानगरपालिकाका जनस्वास्थ्य प्रमुख कुन्दन कुमार सिंहले जानकारी दिए। पहिलो चरणमा ४ लाख ६८ हजार लिटर छर्किने उनको भनाई छ।
उपमहानगरपालिकाले यस कार्यका लागि विपद् व्यवस्थापन कोषबाट बजेट व्यवस्थापन गर्ने जनाएको छ। पहिलो चरणमा चिडिया चौकीदेखि योगिकुटी सिमानासम्म, मिलनचोक देखि बाणिज्य क्याम्पस, बेलबास पुलदेखि १४ नंं वडा कार्यालय, भुड्की चोकबाट बेसक्याम्प, कृषि उपजबाट योगिकुटी कालिकापथ सम्म औषधि छर्किने बताइएको छ।
त्यस्तै तामनगर देखि १४ नं. वडा कार्यालय, मधैया चोक, तामनगर सेमलार हुँदै शुद्धोधन सिमाना, नहरपुरदेखि वडा नं. १८ को कार्यालय सम्म बेलबास देखि नुवाकोट जाने बाटो, हिलपार्क, मणिमुकुन्द पार्कवरपरि, देविनगर चोकदेखि देवसिद्ध, श्रवणपथ देखि प्रहरी तालिमकेन्द्र, बुटवल मण्डप, लक्ष्मीनगर गेट देखि बहुमुखी, दुर्गामन्दिर हुदै गोलपार्क लगायतका सडकमा औषधि छर्कने बताइएको छ ।