कैलालीका कोरोना संक्रमित २१ वर्षीय युवासँगै भारतबाट आएका दाङका ६ जनालाई प्रहरीको सहयोगमा आइसोलेनसमा राखिएको छ।
घोराही र तुलसीपुर क्षेत्रमा बसोबास गर्दै आएका ६ जनालाई आइतबार बेलुका तुलसीपुरको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेनसमा पठाइएको हो।
दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रसाद रिजालका अनुसार घोराही उपमहानगरपालिका वडा नं. ४ का २२ वर्षीय टिकाराम रोका, सोही ठाउँकै २२ वर्षीय पदमकुमार रोका, २९ वर्षीय दिपक पुन, २६ वर्षीय मोहन रोका र १७ वर्षीय जीवन रोकालाई आइसोलेसनमा राखिएको छ।
त्यसैगरी बबई गाउँपालिका वडा नं. २ मा घर भई तुलसीपुर बजारमा बस्दै आएका १९ वर्षीय दशरथ परियारलाई पनि आइतबार नै स्थानीय प्रशासनले खोजी गरेर कोरोना विशेष अस्पतालमा पुर्याएको छ।
संक्रमितसँगै आएका अरु ४ जनालाई आइसोलेसनमा ल्याउन बाँकी रहेको प्रजिअ रिजालले जानकारी दिए। रिजालका अनुसार उनीहरु पनि सम्पर्कमा आइसकेका छन्।
चैत ११ गते भारतबाट स्वदेश फर्किने क्रममा गौरीफन्टा नाकामा नेपाल प्रवेश गर्न पाउनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएकामध्ये एकलाई कोरोना संक्रमण देखिएपछि सो भीडमा रहेका अरुको खोजी भइरहेको छ। सोही भीडमा दाङका १० युवा रहेको खुलेको छ।
ती १० जनालाई खोजेर तुलसीपुरको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा राखिने र स्वाब परीक्षणका लागि पठाइने प्रजिअ रिजालले जानकारी दिए।