ऊर्जा, जलस्रोत ताथ सिँचाइ मन्त्री वर्षमान पुनले काठमाडौंबाट गृह जिल्ला रोल्पामा कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका छन्।
मन्त्री पुनले सोमबार चिकित्सक र स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पिपिई), मास्क, सेनिटाइजर र पञ्जालगायत अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका हुन्।
मन्त्री पुनले पिपिई सेट मात्र १ सय १० थान पठाएका छन्। त्यस्तै, पञ्जा १ जहार थान, आधा लिटरको सेनिटाइजर १३ वटा र मास्क १ हजार थानसमेत रोल्पा पठाइएको छ।
ती स्वास्थ्य सामग्री जिल्ला अस्पतालसहित सबै स्थानीय स्वास्थ्य संस्थामा वितरण गरिने मन्त्री पुनले बताए।
रोल्पाका सबै १० वटै पालिकामा ती सामग्री पुग्नेछन्। जिल्लामा स्वास्थ्य सामग्रीको अभाव भएको गुनासो आएपछि मन्त्री पुनको पहलमा ती सामग्री संकलन गरिएको हो।
यसअघि पहिलो लटमा मन्त्री पुनले नै पठाएका ४० थान पिपिई, ४ हजार थान मास्क र १० थान इन्फ्रारेड थर्मोमिटरलगायत स्वास्थ्य सामग्री जिल्लाका एक नगरपालिका र ९ गाउँपालिकामार्फत् सम्बन्धित स्वास्थ्य संस्थाहरूमा पुगिसकेका छन् ।