बारास्थित सशस्त्र प्रहरी बल १२ न. गणले सीमा इलाकामा थप सक्रियता बढाएको छ।
सशस्त्र प्रहरी बलले बाराको ६० किलोमिटर सीमा इलाकामा हालसम्म १२० भन्दा बढी जनशक्ति नियमितभन्दा बढी जनशक्ति परिचालन गरेको गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दिग विजय सुवेदीले बताए।
बारा जिल्लामा सीमा नाकामा हाल ७ वटा बिओपीमार्फत् नियमित रूपमा सीमा सुरक्षा तथा राजस्व संकलन चोरी निकासी पैठारी नियन्त्रणको कार्य गर्दै आइरहेको छ।
सात बिओपीमा जनशक्ति थप गरी लकडाउन सफल पार्न तथा कोरोना संक्रमित तथा कोही पनि व्यक्तिहरू सीमा नाकाबाट आवतजावत नगरून् भनी सीमा नाकामा कडाइ गरिएको गणपति सुवेदीले बताए।
सशस्त्र प्रहरीको जनशक्ति थपको लागि गृहमन्त्रालयमार्फत् समेत अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिए।
आजै मात्र प्रमुख जिल्ला अधीकारी रुद्र प्रसाद पण्डितको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरूले जिल्लाको सीमानाकाको निरीक्षण गरेका छन्।
मटिअर्बादेखि पश्चिम छतवासम्मको सीमानाकाको अनुगमन भएको मटिअर्बा बिओपी प्रमुख सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण जोशीले बताए। कोरोना संक्रमण रोक्नको लागि सशस्त्र प्रहरी बल सीमा नाकामा सक्रिय भएर लागेको गणपति दिग विजय सुवेदीले बताए।