सरकारले लकडाउन घोषणा गरेसँगै देशभरका होटल व्यवसाय बन्द छन्। ती होटलमा काम गर्ने कतिपय मजदुर घर फर्किएका छन् भने कतिपय लकडाउन खुल्ने आशमा छन्। २८ वर्षीय राजु लामा, जो हेटौंंडाको एक होटलमा वेटरको रुपमा कार्यरत थिए।
सरकारले लकडाउन थप्दै जाँदा होटल खोल्ने समय अनिश्चित बनेपछि संचालकले लामालाई घर जान भने। तर सवारीसाधन बन्द थिए। होटल संचालकले जान भनिसकेपछि लामालाई घर फर्किनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भयो।
आफूले काम गर्दै आएको हेटौंडाको होटलदेखि हिँडेरै भए पनि उनी घर फर्किने मनसायमा पुगे। हेटौडादेखि महोत्तरी बर्दिबाससम्मको दुरी १३३ किलोमिटर छ। सो दुरी पैदल हिँडेरै उनी बर्दिबास आइपुगेका छन्।
‘लकडाउन सुरु भएपछि होटल चल्ने कुरै आएन, होटलले घर फर्किन भन्यो त्यसपछि मसँग त्यहाँबाट निस्किनुबाहेकको विकल्प पनि थिएन’ लामाले भने। हिँड्नुअघि हेटौंडामा उनले केही खानेकुरा आफ्नो झोलामा राखेका थिए। त्यही खानेकुराकाे भरमा यहाँसम्म आएकाे उनले बताए।
बाटोमा बेलाबेला देखिने सवारीसाधनले लिफ्ट दिइहाल्छन् कि भन्ने आश पनि उनमा थियो। तर कसैले लिफ्ट दिएनन्। ‘कोरोना संक्रमणको डरले होला कसैले पनि चढाउन मानेनन्, के गर्नु हिँडेरै आउनुपर्यो’ लामाले थपे।