लकडाउनको अवधि थपिएसँगै जिल्ला प्रशासन कार्यालय धनुषाले सवारीसाधन संचालनमा कडाई गरेको छ।
मंगलबार अपरान्हसम्म प्रहरीले जनकपुरधामबाट लकडाउन अवज्ञा गरेर चलाइएका १४९ सवारी साधन नियन्त्रणमा लिएको छ।
लकडाउनको अवधिमा बिनाकारण सवारीसाधन सञ्चालन गरेको पाइएपछि विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। नियन्त्रणमा लिइएका सवारीसाधनलाई जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत १ सय रुपैयाँ जरिवाना भराएर छोडिएको छ।
यसअघि लकडाउनको अवधिमा जनकपुरधामको रेलवे स्टेशन नजिक लाग्दै आएको तरकारी बजार समेत बन्द गरिएको छ। भीडभाड बढेपछि एकअर्कासँग दुरी कायम हुन छाडेकाले स्थानीय प्रशासनले मंगलबारदेखि तरकारी बजार बन्द गराएको हो।