कोरोनाभाइरस(कोभिड-१९)को संक्रमण फैलिन नदिन सरकारले अहिले देशैभर लकडाउन जारी गरेको छ।
नेपालभित्रै एक व्यक्तिबाट अर्कोमा कोरोना संक्रमण भएपछि सरकारले जोखिम बढ्ने भन्दै २५ गते रातिदेखि लागू हुने गरी थप कडाइका लकडाउनको घोषणा गरेको हो। सरकारले सबैलाई संयमित हुन, सुरक्षित रहन र जो जहाँ छन् त्यही बस्न आग्रह गर्दै लकडाउनको पूर्णपालन गर्न आह्वान गरेको छ।
लकडाउनको समयमा अति आवश्यक परे वा खाद्यान्न सामग्री किन्ने बाहेकको कामका लागि बाहिर निस्किए प्रहरी प्रशासनले बल प्रयोग गर्नेदेखि लिएर कानुनी कारबाहीसम्म गर्न सक्ने चेतावनी समेत प्रहरीले दिँदै आएको छ।
तर महोत्तरीमा भने फरक दृष्य देखिएको छ। यहाँ दैनिक बीपी राजमार्ग हुँदै सयौंको संख्यामा लामवद्ध भएर मानिसहरू पैदल यात्रा गर्दै काठमाडौंबाट गृहजिल्ला जाने गरेका छन्। सप्तरीका ३२ वर्षीय रामप्रसाद सदाले काठमाडौंमा दैनिक ज्यालादारी काम गर्दै आएका थिए।
उनी सडक कालोपत्रे गर्ने काम गर्थे तर लकडाउनपछि काम रोकियो। उनलाई तत्कालका लागि काठमाडौं छोड्नुपर्ने बाध्यता भयो।
रामप्रसादले भने, ‘सडक पिचिङको काम गरिरहेको थिएँ, तर लकडाउन लगातार बढ्दै गएपछि ठेकेदारले लेबर पाल्न सक्ने क्षमता नरहेको भन्दै घर जान भन्यो, बिना काम कसरी त्यहाँ बस्नु भोकभोकै बस्नुपर्ने अवस्था आएपछि हामी समूह बनाएर त्यहाँबाट निस्कियौं।’
उनको समूह चार दिनअघि मात्र काठमाडौंबाट निस्किएका रे।
उनले भने ‘काठमाडौंबाट चार दिन अघि निस्किएका हौं, अहिले बल्ल तल्ल बर्दिबास आइपुगेका छौं हामी।’
चार दिनको लामो दूरीको यात्रा पैदल तय गरेका रामप्रसाद सदा र उनको समूहले भने ठाउँ ठाउँमा राहत स्वरूप चिउरा, दालमोठ, चाउचाउ र पानी पाइरहे।
रामप्रसादले भने, ‘ठाउँ-ठाउँमा प्रहरीले चिउरा, दालमोठ र पानी बाँड्दै थियो, त्यही खाँदै यहाँसम्म आइपुगेका छौं।’
सुनसरी जिल्ला रामपुरका १७ वर्षीय पारस समेत काठमाडौंमा ग्रिल बनाउने काम गर्छन्। तर कोरोनाभाइरसका कारण सरकारले विभिन्न चरण गर्दै लकडाउन थपेपछि उनीसँग समेत घर फर्किनुको विकल्प भएन।
उनले भने, ‘न त्यहाँ खानेकुरा पाइन्थ्यो न त पानी नै कसरी बस्नू!, हाम्रो साहूले समेत तिमीहरूलाई पाल्न गाह्रो भइरहेको भनेपछि घर फर्किनुको कुनै विकल्प नै थिएन। त्यसैले पैदल नै हिँड्न बाध्य भयौं।’
लगभग दुई सय किलोमिटर दूरी पार गरेर बर्दिबाससम्म आइपुगेका उनको अनुहारमा थाकेको भाव देखिन्थेन। उनी अब केही घण्टामा घर पुग्नेमा ढुक्क थिए।
‘त्यति लामो दूरी त पार गरिसक्यौं अब त त्यति दूरी पनि छैन,’ पारसले भने, ‘हामी त कमसेकम बर्दिबास पुगिसक्यौं अझ कैयौं समूहमा मानिस पैदल हिँडेर आइरहेका छन्।’
उनीसँगै आएकाहरूमध्ये कसैको पनि खुट्टा अझ राम्ररी हिँड्नका लागि साथ दिन सक्ने अवस्थामा थिएन तर पनि पछाडि नपर्ने भने अठोट लिएका थिए।
यता लकडाउनको समयमा ड्युटीमा खटिएका एक जना प्रहरी जवानले भने, ‘पहिलो चरणको लकडाउनमा त त्यति देखिएन तर विस्तारै सरकारले लकडाउन बढाउँदै गएपछि दैनिक लगभग ५ सयको संख्यामा मानिसहरू वीपी राजमार्ग हुँदै सिरहा, सप्तरी,सुनसरी, सर्लाही, रौतहट लगायतका जिल्लाहरू जाने गरेका छन्।’
उनले अघि थपे, ‘लकडाउनको पालना त गर्न लगाइरहेका छौं तर बाध्यताबस यतिको भारी संख्यामा फर्किरहेकाहरूलाई कसरी रोक्नु न त बाँस बस्ने व्यवस्था गर्न मिल्छ न त खानाकै व्यवस्था नै गर्न सकिन्छ, तर पनि दूरी व्यवस्थापन गरी हिँड्नलाई आग्रह गर्दै पठाउँदै आएका छौ।’