कीर्तिपुर-१० मा जाजरकोटकी एक गर्भवती महिला र उनका श्रीमान आएपछि स्थानीय डराएको भन्दै वडाध्यक्षले उनी बसेको घरमा ताला लगाइदिएका छन्।
बुधबार साँझ करिब पाँच बजे ती गर्भवती महिला र उनका श्रीमान एम्बुलेन्समा कीर्तिपुर आइपुगे। यो दम्पत्ती जाजरकोटबाट उपचारका लागि कोहलपुर पुगेका थिए। त्यहाँबाट सुविधा सम्पन्न ठाउँमा जान सुझाएपछि उनीहरू काठमाडौं आइपुगेका हुन्।
काठमाडौंमा आएर उनीहरू आफ्नी बिहिनी बिना (नाम परिवर्तन) बसेको डेरामा पुगेका थिए।
'जाजरकोटबाट दिदी र भेनाजु आइपुग्नुभएको हो,' बिनाले सेतोपाटीसँग भनिन्,'उता उपचार गर्दा रगत नपुग्न सक्छ, त्यसैले यता जान भनेपछि आउनुभएको हो।'
स्थानीयवासीले कोही एम्बुलेन्सबाट झरेको देखेपछि वडाध्यक्ष अमन महर्जनलाई गुहारे।
'एम्बुलेन्समा आएपछि मलाई साथीहरूले फोन गरे,' महर्जनले भने, 'उनका श्रीमान र बहिनीसँग कुराकानी गर्दा ती महिलाको २४ गतेको डेलिभरी रहेछ।'
वडाअध्यक्ष महर्जनले उनीहरूलाई होम क्वारेन्टिनमा बस्न सुझाएको बताए।
'पश्चिमबाट आएको भनेपछि अलि सतर्क हुनुपर्ने अवस्था छ। त्यसैले मैले बाहिरबाट ताल्चा लगाइदिएको हुँ,' उनले भने, 'होम क्वारेन्टिनमा बस्न भनेको थिएँ। तर त्यहाँका स्थानीय नै डराउन थाले। कोही नभएका बेला बाहिर निस्के भने के गर्ने होला भनेपछि ताल्चा लगायौं।'
केही आपत् परेको खण्डमा कसरी बाहिर निस्किन्छन् त? भन्ने प्रश्नमा वडाध्यक्षले स्थानीय डराएकाले चाबी लगाउन बाध्य भएको बताए।
'नेपाल सरकारले नै एउटा पालिकाबाट अर्को पालिकामा जान निषेध गरेको छ,' वडाध्यक्ष महर्जनले भने, 'उहाँहरू आएर गल्ती गर्नुभयो। तर उतै जानू भन्ने अवस्था छैन। त्यसैले केही परे फोन गर्नू भनेर नम्बर दिएका छौं।'
स्थानीयले कोरोना भाइरस लागेर आएको भन्ने शंका गर्न थालेको बिनाले बताइन्।
'हामीलाई बाहिर ननिस्कन भन्नुभएको छ। त्यसैले निस्केका छैनौं,' बिनाले भनिन्, 'अब भोलि स्वास्थ्य जाँच गर्न आउने भन्नुभएको छ।'