लकडाउनको समयमा खोलाजन्य वस्तु चोरी निकासी गरिरहेका पाँच टिपर प्रहरीले नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले गएराति तुलसीपुर उपमहानगरपालिका वडा नं. १० वनगाउँस्थित पातुखोलाबाट ती पाँच टिपर नियन्त्रणमा लिएको हो।
दाङ जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्टराईले टिपरहरू नियन्त्रणमा लिइएको पुष्टि गरे। तर, संख्या उनले खुलाउन चाहेनन्।
‘चालक राति नै भागेपछि टिपर खोलामै थन्किएका छन्,’ एसपी भट्टराईले भने, ‘प्रहरीसँग चालक छैनन् र हामीले ल्याउन सकेका छैनौं।’
दाङ जिल्ला प्रहरी प्रवक्ता डिएसी सुमित खड्काले टिपर नियन्त्रणबारे आफूलाई थाहा नभएको बताए।
‘लकडाउनको समयमा पनि रातभर टिपर बालुवा गिट्टी ओर्साछन्,’ वनगाउँका एक स्थानीयले भने, ‘झन्डै एक दर्जनको हाराहारीमा टिपरहरू गएराति खोलाजन्य वस्तुको अवैध निकासीमा प्रयोग गरिएका थिए।’
स्थानीयले भनसुन र राजनीतिक पहुँचको आधारमा तस्करहरूलाई जोगाउन प्रहरी प्रशासन पनि लागेको आशंका व्यक्त गरेका छन्।
ती स्थानीयका अनुसार सेटिङमा तस्करहरूले क्रसर उद्योगमा रातारात बालुवा गिट्टी ओसार्ने गरेको हुन्।
प्रकाशित मिति: शनिबार, चैत २९, २०७६, ०२:३६:००