सशस्त्र प्रहरी बलले दार्चुलाको छाङ्गरूमा रहेको पोस्टका लागि भवन बनाउन ११ करोड छुट्याएर बोलपत्र आह्वान गरेको छ।
यो ठाउँमा १६० जना फौज रहने गरी सशस्त्रको गुल्मको रूपमा स्थापना गरी यसैमातहत कालापानी नजिकैको कौवामा र चीनसँगको सीमा तिङ्करमा थप दुईवटा सीमा सुरक्षा पोस्ट (बिओपी) स्थापना गर्ने तयारी गृहमन्त्रालयले अघि बढाएको छ। त्यसका लागि आवश्यक जग्गा लिने प्रक्रियासमेत गृहले अघि बढाएको छ।
यसअघि वैशाख ३१ गते सशस्त्र प्रहरीले लिपुलेक क्षेत्रको सीमा सुरक्षाका लागि टोली खटिएको थियो।
नेपाली सेनाको हेलिकप्टरबाट सशस्त्र प्रहरी लगेर आज दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरूमा सीमा निगरानी चौकी (बिओपी) स्थापना गरिएको हो।
नेपाली भूमि लिपुलेक हुँदै भारतले एकतर्फी सडक बनाएर उद्घाटन गरेपछि अहिले विरोध भइरहेको छ।
सीमारक्षाका लागि सरकारले त्यस क्षेत्रमा सशस्त्रको टोली पठाएको हो। सीमा निगरानी चौकीमा २५ जना सशस्त्र प्रहरी छन्।