शनिबार पुनः संक्रमण देखिएका दुई जनासहित ९ जना कोरोनामुक्त भएका छन्। वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत उनीहरूलाई साँझ डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए।
डिस्चार्ज हुनेमा दुईजना पुनः संक्रमण देखिएर अस्पताल भर्ना भएका थिए। जसमा रौतहटका १९ वर्षीय युवक र अर्का भारतीय नागरिक हुन्।
निको भएर डिस्चार्ज गरेपनि पुनः संक्रमण देखिएपछि रौतहटका युवकलाई गत बैशाख २० गते र भारतीय नागरिकलाई २१ गते अस्पताल ल्याइएको थियो।
आज उनीहरूसँगै बाराका २, पर्साका ३ र रौतहटका २ जना पनि डिस्जार्ज भएका छन्। डिस्चार्ज भएका सबै पुरुष हुन्।
योसँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या ७९ पुगेको छ। संक्रमित संख्या भने ५ सय ९१ पुगेको छ। शनिबार साँझसम्म मात्र देशभरबाट ७५ जना संक्रमित थपिएका छन्।