काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपत्यकालाई पूर्ण रुपमा सिल गरेर उद्योग कलकारखाना र निर्माणका काम अघि बढाउन आग्रह गरेका छन्।
उनले उपत्यकामै रहेकको जनशक्तिलाई परिचालन गर्नुपर्ने बताएका छन्। ‘तत्काल उद्योग–व्यवसाय चलाउने, कार्यालय खोल्ने, निर्माणका काम अघि बढाउने नाममा अनावश्यक रुपमा नागरिक उपत्यका भित्र्याउने हो भने झन समस्या हुन्छ,’ मेयर शाक्यले भने, ‘अहिले उपत्यकामा जति जनशक्ति छ, त्यसैले सामाजिक दुरी कायम गर्ने, सुरक्षाका सबै उपाय अपनाएर अर्थतन्त्रलाई चलायमान बनाउनुपर्छ। विस्तारै संक्रमणको खतरा कम हुँदै गएपछि उपत्यका प्रवेशमा सहज बनाउनुपर्छ।’
काठमाडौं उपत्यका संघीय राजधानी भएकाले यहाँका उद्योग नचल्दा अर्थतन्त्रमा गम्भीर असर पर्ने समेत उनले बताएका छन्।
परीक्षणका नाममा खर्च बढ्ने अनि आम्दानीका स्रोतहरु बन्द हुने हो भने दोहोरो मारमा परिने र झन भयावह अवस्था आउने उनको चेतावनी छ।
उपत्यकामा सोमबार मात्रै थप तीन जनामा संक्रमण पुष्टि भएसँगै थप सजग हुनुपर्ने शाक्यले बताएका छन्। उनले उपत्यकाका सबै सुरक्षा निकायले स्थानीय तहसँग समन्वय गरेर उपत्यका प्रवेश नाकाको चाँच र निगरानीमा थप कडाइ गर्नुको विकल्प नभएको समेत बताए।
‘पहिला पनि निर्णय कार्यान्वयन नहुँदा समस्या भयो अब त्यस्तो समस्या दोहोरिनु हुन्न,’ उनले भने, ‘त्यसका लागि गृह प्रशासनले कडाइका साथ कदम चाल्नुपर्छ। हामी समन्वय गर्न तयार छौँ ।’
पछिल्लो समय परीक्षण मात्रै भनेर अर्थतन्त्रका बारेमा ध्यान नदिँदा थप जटिलता पैदा भएको भन्दै उनले चिन्ता जनाएका छन्।
‘परीक्षण–परीक्षण मात्रै भनिरहेका छौँ, त्यसको पछिको आर्थिक पाटोका बारेमा हामीले सोचेकै छैनौँ,’ उनले भने, ‘पहुँचका आधारमा संक्रमणको दायरा भित्र नपरेका व्यक्तिमा समेत पिसिआर गर्नुपर्छ भन्ने होडबाजी चल्ने हो भने राज्य खोक्रो हुन्छ। राज्यले सित्तैमा गर्ने हो पहुँच लगाएर परीक्षण गरौँ भन्ने लहडमा हामी हिड्यौँ भने मुलुकको अर्थतन्त्र नियन्त्रण भन्दा बाहिर जान सक्छ।’