प्रहरीले शंखरापुर नगरपालिका २ पटापस्थित घाटमा चितामा राखिएको शवलाई नियन्त्रणमा लिएको छ।
सोमबार दिउँसो १५ वर्षीय सुनबहादुर तामाङले आत्महत्या गरेको भन्ने जानकारी प्रहरीलाई नदिएपछि प्रहरीले शवलाई नियन्त्रणमा लिएको हो।
‘हिजो आत्महत्या गरेको भन्ने खबर बेलुकी सात बजे पायौं तर हामीले झुण्डिएको देखेका थिएनौं,’ महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक गोविन्द पन्थीले भने।
उनका अनुसार घरबाट सुसाईड नोट पनि फेला परेको छ। ‘खबर नै नगरी उहाँहरूले घाट लैजानु भएछ,’ उनले भने, ‘त्यसपछि हामीले सबैलाई सम्झाइबुझार्इ चिताबाट शव उठाएका थियौं।’
तामाङले सुसाइड नोटमा आफू मर्न गएको र आफ्नो सम्पत्ति जेठो दाइलाई दिन आग्रह गरेका थिए। तर प्रहरीले घटना नदेखेको भएकाले यसबारे थप अनुसन्धान हुने पन्थीले बताए।
साथै तामाङले पारिवारिक समस्याका कारणले आत्महत्या गरेको हुन सक्ने निरीक्षक पन्थीले बताए। उनको शव पोष्टमर्टमको लागि महाराजगन्जस्थित टिचिङ अस्पतालमा पठाइएको छ।