गत चैतदेखि वैशाख मसान्तसम्म करिब ७५ अर्ब ४८ करोड रेमिट्यान्स भित्रिएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार गत चैतदेखि वैशाखसम्मको अवधिमा अघिल्लो वर्षको सोही अवधिको विप्रेषण आप्रवाहमा कमी आएको छ। गत वर्षको सोही अवधिमा एक खर्ब ४३ अर्ब ११ करोड रेमिट्यान्स प्राप्त भएको थियो ।
बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।
नेपालीको प्रमुख श्रम गन्तव्य खाडी, मलेसियालगायतका देशमा पनि ‘लकडाउन’ जारी रहेका बेला रेमिट्यान्स आप्रवाहमा नकारात्मक असर परेको हो । गत फागुनमा पाँच अर्ब १० करोड प्राप्त भएकामा गत चैतमा एक अर्ब ६० करोड मात्रै त्यस्तो आय प्राप्त भएको छ।
गत चैतदेखि वैशाखसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाले ८३ अर्ब निक्षेप सङ्कलन गरी२२ अर्ब कर्जा लगानी गरेको अपरिस्कृत तथ्याङ्क प्राप्त भएको बैंकले जनाएको छ।
केन्द्रीय बैंकका अनुसार गत चैतदेखि वैशाखसम्म सात अर्ब १६ करोडको निर्यात भएकामा एक खर्ब ९० करोडको आयात भएको छ । गत वर्षको सोही अवधिमा ७ अर्ब ३१ करोडको निर्यात र दुई खर्ब २९ अर्ब तीन करोडको आयात भएको थियो।