कपिलवस्तुमा एकैदिन २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ र प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणबाट उनीहरूमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो।
बिहीबार साँझ कोरोना संक्रमण पुष्टि हुनेहरू जिल्लाको विजयनगर गाउँपालिका, कपिलवस्तु नगरपालिका र महाराजगञ्ज नगरपालिकाका हुन्।
जसअनुसार कपिलवस्तु नगरपालिकाका १७, विजयनगर गाउँपालिकाका ९ जना र महाराजगन्ज नगरपालिकाका एक जना छन्।
कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाका अनुसार कपिलवस्तु वडा नं ८ का मात्रै १२ जनामा संक्रमण पुष्टि भएको हो।
कपिलवस्तु नगरपालिका वडा नं. ११ का ३ जना, वडा नं. १० र ७ का १/१ जना रहेका छन्। उनीहरू सबै १७ देखि ४० वर्ष उमेर समूहका पुरूष हुन्।
त्यसैगरी विजयनगर गाउँपालिकाको वडा नं. ७ का ६ जना, वडा नं ३ का २ जना र वडा नं. ५ का एक जना रहेका छन्।
कोरोना फोकल पर्सन थापाका अनुसार उनीहरू पनि २३ देखि ५२ वर्ष उमेरका सबै पुरूष रहेका छन्।
कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नंं. ७ का ३० वर्षका एक पुरूषमा पनि बिहीबार साँझ कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या १ सय ३६ पुगेको छ।
बिहीबार संक्रमण पुष्टि हुने सबै जना भारतबाट आई क्वारेन्टिनमा बसेकाहरू रहेको थापाले जानकारी दिए।