पश्चिम बंगालका एक मन्त्रीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।
त्यहाँका मुख्यमन्त्री ममता बेनर्जी क्याबिनेटका अग्नी सेवा मन्त्री सुजित बोसमा संक्रमण पुष्टि भएको हो।
बिहीबार राति उनको रिपोर्ट पोजेटिभ आएपछि होम क्वारेन्टिनमा बस्न आग्रह गरिएको हो। त्यस्तै उनकी श्रीमतीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
बंगालमा बिहीबार मात्रै तीन सय ४४ संक्रमित थपिएका थिए। जसमध्ये ८७ संक्रमित कोलकत्ताका छन्। शुक्रबार बिहानसम्म कुल संक्रमित चार हजार पाँच सय ५३ छन्। जसमध्ये एक हजार ६ सय ६८ जना निको भएर घर फर्किसकेका छन्।
बंगालमा यसको संक्रमणबाट दुई सय ९५ जनाले ज्यान गुमाइसकेका छन्। भारतभरी अहिलेसम्म एक लाख ६५ हजार सात सय ९९ संक्रमित छन् भने चार हजार ७ सय ६ जनाले ज्यान गुमाएका छन्।