चौरजहारी घटनाका क्रममा भेरी नदीमा बेपत्ता भएका गोविन्द शाहीको पनि शव भेटिएको छ। मंगलबार भेरी नगरपालिका–१२ स्थित खोदा खोला नजिकै भेरी नदीको किनारमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी किशोर श्रेष्ठले जानकारी दिए।
भेरी नगरपालिका–११ का गोविन्द पनि नवराजलाई साथ दिन चौरजहारी गएका थिए। जेठ १० गते रूकुम पश्चिमको चौरजहारी नगरपालिका–८ स्थित सोती गाउँका स्थानीयले लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हाम फालेकामध्ये गोविन्द हालसम्म बेपत्ता थिए।
घटनामा एक जना सोही दिन राति मृत भेटिएका थिए भने ५ जना बेपत्ता थिए। बेपत्तामध्ये चार जनाको शव यसअघि नै भेटिएको थियो।
केटी भगाउन भनी खलंगाबाट सोती गाउँ गएका २१ वर्षीय नवराज विक सोही राति भेरी नदीमा मृत भेटिएका थिए। १२ गते चौरजहारी नगरपालिका–१ का २० वर्षीय टिकाराम सुनार र अर्का एक जना गणेश बुढाको शव भेटिएको थियो।
यस्तै १४ गते बेलुका भेरी नगरपालिकाकै लोकेन्द्र सुनारको शव पनि कुदु गाउँ नजिकै भेरी नदीमा फेला परेको थियो भने १५ गते भेरी नगरपालिका–४ का सञ्जु विकको शव भेटिएको थियो।
घटना के भएको थियो
भेरी नगरपालिका-४ जाजरकोटका नवराज विक र रूकुम पश्चिमको चौरजहारी नगरपालिका-८ की १७ किशोरी तीन वर्षदेखि प्रेममा थिए। यो कुरा उनीहरू दुबैको परिवारलाई थाहा थियो।
दुबै तर्फका परिवारले सम्बन्धलाई स्वीकार नगरेको नवराजका एक जना आफन्तले सेतोपाटीलाई बताए।
‘केटातर्फको परिवारलाई पनि पहिल्यै थाहा भइसकेको थियो, आमाले जात नमिल्ने भएकाले अगाडि नबढ्न छोरालाई भन्नुभएको रहेछ,’ उनले भने, ‘केटीतर्फकोले पनि सम्बन्धबारे थाहा पाएर अलग गराउने चेतावनी दिइरहेका थिए।’
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरीक्षक किशोर श्रेष्ठले उनीहरूको प्रेम सम्बन्धबारे पहिला पनि विवाद भएको बताए।
‘लकडाउन सुरू हुनुभन्दा पहिला पनि बिक चौरजहारीस्थित केटीको घरमा पुगेका थिए। छोरी भागेर जान थालेको थाहा पाएपछि उनका अभिभावकले प्रहरीलाई खबर गरेछन्,’ डिएसपी श्रेष्ठले भने।
प्रहरीले उनीहरू दुबै जनालाई चौकी ल्यायो।
केटीको उमेर नपुगेकाले पछि विवाह गर्नु भनेर सम्झाइबुझाइ गरेर पठाइदियो।
कानुनले तोकेको उमेर पो पुगेको थिएन, उनीहरूले मन भने विवाहका लागि आत्तिसकेको थियो। उनीहरूले फोनमै फेरि भाग्ने योजना बनाए। जेठ १० गते नवराज आफ्ना १८ जना साथीलाई सँगै ल्याएर चौरजहारी आए।
उनको साथी आएकाहरू गैरदलित समुदायका पनि थिए। तीमध्ये एक गणेश बुढाको गत सोमबार साँझ भेरी नदीको किनारमा शव फेला परेको छ। बुढा र नवराज छिमेकी थिए।
नवराज आफ्ना साथीसहित वडामा आएको चौरजहारी-८का वडाध्यक्ष डम्मरबहादुर मल्ललाई कसैले खबर गरिदियो। त्यतिबेला उनी बाहिरबाट आएकालाई राख्न बनाइएको क्वारेन्टिनमा थिए। उनले साँझ पाँच बजेतिर आफूले यो खबर पाएको सेतोपाटीलाई बताए।
‘लकडाउन कार्यान्वयन गर्न हामीले एक वडाबाट अर्को वडामा जान बन्द गरेका बेला जाजरकोटबाट ठूलो समूहमा युवाहरू आएको सूचना मैले इलाका प्रहरी कार्यालयलाई दिएँ,’ वडाध्यक्ष मल्लले भने,‘तर प्रहरी समयमा आएन। गाउँमा पुगेर उनीहरूले केटीकी आमासँग भनाभन गरेछन्।’
त्यसपछि क्वारेन्टिनबाट आफू गाउँ गएको उनले बताए।
‘औल भन्ने ठाउँमा पुग्दा गाउँलेहरूले युवाहरूलाई लखट्दै आएको भेट्टाएँ। त्यतिबेला झन्डै साढे पाँच बजेको थियो। ५ मिनेटपछि प्रहरी पनि सोही ठाउँमा पुग्यो,’ उनले भने।
गाउँलेहरूले १२ जना युवालाई नियन्त्रण लिएर राखेका थिए। ती सबैलाई प्रहरीको जिम्मा लगाए।
पहिला पनि आएका नवराज फेरि दलबलसहित आएको देखेपछि केटीकी आमा ‘दलितको छोराले हाम्री छोरी भगाउन लाग्यो’ भन्दै कराइछन्।
‘युवाहरूले उनको कुरा सुनेको नसुन्यै गरेछन्। विनोद मल्लको घर कहाँ छ भन्दै हिँडेछन्,’ वडाध्यक्ष मल्लले भने,‘पहिलो पटक केटी भगाउन आएको बेला प्रहरी चौकी पुर्याएको भन्दै विनोदसँग नवराज रिसाएका थिए।’
त्यसपछि गाउँलेहरूले ती युवाहरू झगडा गर्न आएको ठानेर लखेटेको वडाध्यक्ष मल्लले बताए।
‘उनीहरू १९ जनामात्रै तर गाउँका १०० जना जति पुगेपछि उनीहरूको जोर चलेन अनि ज्यान जोगाउन भागेछन्,’ मल्लले भने।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी ठगबहादुर केसीले जाजरकोटका युवालाई सोती गाउँका मानिसले कुटपिट गर्दै लखेटेपछि ज्यान जोगाउन भाग्दाभाग्दै नदीमा हाम फालेको बताए।
‘गाउँले कुटपिट गर्न थालेपछि सबै भागाभाग गरे, सबै ज्यान जोगाउन लागे,’ डिएसपी केसीले भने ‘नदीमा हाम फालेकाहरूलाई समेत माथिबाट ढुंगामुढा भयो भन्ने बयान घाइतेहरूले दिएका छन्।’
गाउँलेहरूले लखेट्दै उनीहरूलाई नदी किनारसम्म पुर्याए।
पौडेर नदी पार गर्छु भन्नेहरूले भेरीमा हाम फाले। नसक्नेले आत्मसमर्पण गरेको डिएसपी केसीले बताए।
‘नदीमा हाम फालेकाहरूमाथि पनि गाउँलेहरूले ढुंगाले हाने, पहिला नै घाइते भएका उनीहरू पौडिन सकेनन् होला,’ डिएसपी केसीले भने।
प्रहरीले गाउँलेले बुझाएका १२ जनालाई जिल्ला अस्पताल ल्यायो। नदीमा हाम फालेका ६ जनाको खोजी सुरू गर्यो। राति १० बजेतिर भेरी किनारमा नवराजको शव फेला पर्यो।
उनको शव भेटिएको केही तल गत आइतबार बिहान टीकाराम सुनारको शव भेटियो। टीकारामको शव भेटिएको ठाउँबाट तीन/चार किलोमिटर तल सोमबार साँझ गणेश बुढा मगरको शव फेला परेको छ।
१८ वर्षका लोकेन्द्र सुनार र सञ्जु बिक र १७ वर्षीय गोविन्द शाही पनि शव भेटिएको छ।
घाइते युवाले आफू केटी लिन भनी रूकुम आएको भए पनि यस्तो होला भन्ने थाहा नभएको प्रहरीलाई बताएका छन्।
‘हामी केटीको घर पुग्दा गाली गर्न थाले अनि गाउँले पनि आए त्यसपछि लखेटे अनि ज्यान जोगाउन भाग्ने काम भयो र त्यही क्रममा घेराबन्दी गरेर कुट्ने काम गरे,’ डिएसपी केसीले घाइते युवाको भनाइ उद्धृत गर्दै भने ‘लखेट्दै भेरीसम्म पुर्याए अनि ज्यान जोगाउन कतिपय साथीले नदीमा हाम फाले।’