डोल्पामा भेरी नदीले बगाउँदा तीन जना बालिकाको मृत्यु भएको छ।
मंगलबार दिउँसो करिब साढे २ बजे ठूलीभेरी नगरपालिका-९ मोतीपुरमा तीन बालिका भेरी नदी किनारामा गोठालो गएका थिए। त्यही क्रममा एउटा गाई भेरी नदी तर्न खोज्यो। गाईलाई नदीले बगाउने चिन्ताले तीनै जना बालिका नदीमा उत्रिए।
तर सोही क्रममा भेरी नदीले तीनै बालिकालाई बगाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायण रञ्जितकारले जानकारी दिए।
'गोठालो गएको बेला एउटा गाई भेरी नदी तर्न खोज्यो,'डिएसपी रञ्जितकारले भने,'त्यसपछि बालिकाहरूले गाईलाई जोगाउन खोज्दा तिनीहरूलाई बगायो।'
सोही स्थानका १२ वर्षीया यशोदा भण्डारी र १० वर्षीया विजय कठायतलाई नदीले बगाउँदै गरेको देखेपछि प्रहरीले उद्धार गरेको थियो।
प्रहरीले उद्धार गर्दा उनीहरू अचेत अवस्थामा देखेपछि तत्काल जिल्ला अस्पताल डोल्पा पुर्याएको थियो।
पछि दुबै जनाको उपचारका क्रममा मृत्यु भएको डिएसपी रञ्जितकारले बताएका छन्।
त्यस्तै, गंगा कठायतको शव घटनास्थलभन्दा पाँच किलोमिटर पर त्रिपुरासुन्दरी नगरपालिका-१ स्थित त्रिपुराकोट बगरमा भेटिएको हो।
शव पोष्टमार्टमको लागि जिल्ला अस्पलात लगिएको छ।