जर्ज फ्लोयडको घाँटीमा घुँडाले थिच्ने अमेरिकाका पूर्वप्रहरीकी पत्नीले सम्बन्धविच्छेदको निवेदन दिएकी छिन्।
फ्लोयडको घाँटी थिच्ने मिनिसोटाका पूर्वप्रहरी डेरेक सउभिनकी पत्नी केली सउभिनले १० वर्ष लामो वैवाहिक सम्बन्ध टुंग्याउन लागेकी हुन्।
फ्लोयडलाई नियन्त्रणमा लिन सउभिनले ८ मिनेट ४६ सेकेन्डसम्म घुँडाले घाँटी थिएका थिए। पछि उक्त भिडिओ भाइरल भएको थियो। उक्त घटना र अमेरिकी प्रहरी अधिकारीले काला नागरिकमाथि गर्ने दमनविरूद्ध अहिले अमेरिकामा दिनदिनै प्रदर्शन भइरहेको छ। प्रदर्शन बढेसँगै प्रहरीले सउभिनलाई पक्रेर हत्या मुद्दा दर्ता गरेको छ।
'मैले केली सउभिन र उनको परिवारसँग कुरा गरें। उनी फ्लोयडको मृत्युबाट दु:खी छन् र उनले फ्लोयडको परिवार, प्रियजन र शोकमा डुबेका सबैजनालाई समवेदना प्रकट गरेकी छिन्। उनले डेरेक सउभिनसँग सम्बन्धविच्छेद गर्न शनिबार निवेदन दिएकी छिन्,' केलीका वकिलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
केलीले आठ पेज लामो निवेदनमा आफ्नो थरसमेत परिवर्तन गर्न चाहेको उल्लेख गरेकी छन्।
जर्ज फ्लोयडको हत्यापछि अमेरिकामा नश्लीय विभेदविरूद्ध ठूला प्रदर्शनहरू भइरहेका छन्। कयौं शहरमा कर्फ्यू लगाइएको छ। घटनामा संलग्न सउभिनसँगै प्रहरीहरू थोमस लेन, जे एलेक्जेन्डर र टाउ थाओलाई पनि बर्खास्त गरिएको छ।