नेपालमा स्वास्थ्य संकटकाल घोषणा गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णय गरेको छ।
बिहीबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोभिड-१९ को संक्रमण अवस्थालाई लिएर स्वास्थ्य संकटकाल घोषणा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको जानकारी दिए।
मन्त्रालयले यसअघि बनाएको स्वास्थ्य आपतकालीन कारबाही योजना अनुसार दुई हजार एक्टिभ संक्रमित भएको अवस्थामा ‘जनस्वास्थ्य संकटकाल घोषणा गर्ने सक्ने व्यवस्था’ रहेको भन्दै सो निर्णय भएको जनाएको छ।
प्रवक्ता देवकोटाले मन्त्रिपरिषद्बाट स्वीकृत हुनसाथ संकटकाल जारी हुने बताए। साथै यसका लागि स्वास्थ्य मन्त्रालयले एक जना अधिकारी तोक्नुपर्ने भन्दै उनले त्यसको लागि स्वास्थ्य सचिवलाई प्रस्ताव गर्न अनुरोध गरेको जनाए।
सरकारले यसअघि बनाएको कार्यविधि अनुसार दुई हजार देखि पाँच हजार संक्रमित नपुग्दासम्म लक्षणविहीन संक्रमितलाई घरमै आइसोलेसनमा राख्ने भनेको छ। अब कोरोनाको उपचार कार्यविधि अनुसार नै गर्ने मन्त्रालयको तयारी छ।