प्रहरीले गर्ने नश्लीय विभेदको विरोधमा जारी प्रदर्शनबीच अमेरिकी राष्ट्रपति भवन ह्वाइटहाउस वरिपरि छेकबार थपिएको छ।
सुरक्षाका सतर्कताका लागि ह्वाइटहाउस वरिपरि बार थपिएको र केही सडकमा आवागमन बन्द गरिएको सिक्रेट सर्भिसले जनाएको छ।
‘यो प्रयास ह्वाइटहाउस वरिपरि सुरक्षा उपाय कायम गर्न र शान्तिपूर्ण तरिकाले प्रदर्शन गर्न दिन हो,’ सिक्रेट सर्भिसका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
ह्वाइट हाउस वरिपरिका विभिन्न स्ट्रिटहरू आगामी बुधबारसम्मका लागि बन्द गरिएको छ।
गोरा प्रहरी अधिकारीले घाँटी थिचेपछि केही दिनअघि जर्ज फ्लोयडको मृत्यु भएको थियो। उनको मृत्युपछि अमेरिका प्रहरीले गर्ने रंगभेदी व्यवहारको अन्त्यको माग गर्दै प्रदर्शन भइरहेका छन्।
गत शुक्रबार ह्वाइटहाउसअगाडि ठूलो संख्यामा प्रदर्शनकारी आएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई करिब एक घन्टा बंकरमा राखिएको थियो।