भारतबाट नेपाल आएकी अभिनेत्री मनीषा कोइराला क्वारेन्टाइनमा बसेकी छन्। भैरहवा (बेलहिया) नाका हुँदै उनी मंगलबार आफ्ना आमाबुवासँगै निजी गाडीमा नेपाल आएकी हुन्।
उनीहरू आएलगत्तै सेल्फ-क्वारेन्टाइनमा बसेका छन्। त्यस्तै आफूहरू सबैले कोरोना भाइरस संक्रमण जाँच गरेको पनि मनीषाले सेतोपाटीलाई जानकारी दिइन्।
'हामी सबैले नेपाल आउनेबित्तिकै कोरोना परीक्षण गरायौं। सबैको रिपोर्ट नेगेटिभ आयो,' उनले सेतोपाटीसँग भनिन्, 'तै पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार १४ दिन क्वारेन्टाइन बस्न पर्ने भएकाले हामी त्यही नियम पालना गर्दै सेल्फ क्वारेन्टाइनमा बसेका हौं।'
मनीषा र उनका आमाबुवा गोरखपुरसम्म विमानमा आएर त्यहाँबाट स्थलमार्ग हुँदै बेहलिया नाका आएका थिए। त्यहाँ सामान्य स्वास्थ्य परीक्षण गरी उनीहरू काठमाडौं आएका हुन्।
काठमाडौं उनीहरू क्वारेन्टाइन बसेको मनीषाले जानकारी दिएकी छन्।