काठमाडौंस्थित कमलादीको एक होटलबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका सबैलाई धरौटीमा छाड्न आदेश भएको छ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले सबैलाई धरौटीमा छाड्न आदेश दिएको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए।
पक्राउ परेका आठ जनालाई ३० हजार धरौटीमा छाड्न आदेश दिइएको हो भने एक जनालाई ४० हजारमा छाड्न आदेश दिएको हो।
'एक जना सार्वजनिक पदका व्यक्ति भएको कारणले बढी सजाय भएको हो,'उनले सेतोपाटीसँग भने,'धरौटी बुझाएर छुटिसकेका छन् होला।'
गत सोमबार साँझ प्रहरीले कमलादीस्थित गङगोर रिजेन्सी बुटिक होटलबाट उनीहरूलाई दुई लाख ७७ हजार सात सय २० रुपैयाँसहित नौ जनालाई पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा नन्द किशोर शर्मा, अशोककुमार अग्रवाल, गोविन्दराम सरिया, विमलकुमार खेतान, राम चन्द्र साङ्घाई, पुरूषोत्तम अग्रवाल, विमल अहुजा र सुरेश अग्रवाल थिए। होटलका सञ्चालक भारतका निक्की जोगाइलाई पनि पक्राउ गरेको थियो।