काठमाडौं महानगरपालिकाले वडा नं. ३२ को तीनकुनेमा आधुनिक बुद्धपार्क निर्माण गर्ने भएको छ।
आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममै बुद्धपार्क निर्माण गर्ने योजना समावेश गरेको महानगरपालिकाले अब पार्क निर्माणको कामलाई द्रुत गतिमा अघि बढाउने जानकारी दिएको छ।
‘तत्कालीन नेपाल सरकारले २०३२ साल जेठ १४ मा जग्गा प्राप्ति ऐन अनुसार जग्गा अधिग्रहण गरेदेखि नै तीनकुनेमा पार्क बनाउने योजना बनेको हो, तर अहिलेसम्म पूरा हुन सकेको छैन,’ काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले भने, ‘तीनकुनेस्थित खाली जग्गाको मुआब्जा विवाद सुल्झाउन नसक्दा यो योजना अलपत्र परेको छ, यस पटक सबै विवादको अन्त्य गरेर योजना अघि बढाउने तयारीका साथ हामी जुटेका छौँ।’
प्रमुख शाक्यले तीनकुनेको मुआब्जा विवाद सुल्झाउन काठमाडौं महानगरपपालिकाले प्रारम्भिक अधिकारी नै तोकेको र प्रतिवेदन समेत सम्वन्धित निकायमा पठाइसकेको जानकारी दिए।
‘चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला पनि हामीले तीनकुनेमा हरियालीसहितको आइल्याण्ड निर्माण गरेका थियौँ,’ प्रमुख शाक्यले भने ‘सार्वजनिक जग्गा संरक्षण गर्ने, हरियाली प्रवर्द्धन गर्ने, सहरको सौन्दर्य बढाउन पार्क निर्माण गर्ने महानगरकाे नीति नै हो, हामीले यसै अनुरुप तीनकुनेमा बुद्धपार्क निर्माण गर्न चाहेका हौँ।’
केही जग्गाधनीले चलनचल्तीको मूल्यअनुसार मुआब्जा पाउनुपर्ने लगायतका माग गरेपछि विवाद अहिलेसम्म टुंगोमा पुग्न सकेको छैन।
‘हामीले करिव ५० रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको तीनकुनेमा बुद्धपार्क निर्माणका लागि डिजाइन तयार पारिसकेका छौँ,’ काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन विभाग प्रमुख अर्चना श्रेष्ठ शाक्यले भनिन्, ‘हिन्दु र बौद्ध धर्मको मर्म फ्युजन गरी निर्माण हुने उक्त पार्कको तीन कुनामा ब्रह्मा, विष्णु र महेश्वरको प्रतिकका साथै ‘बुद्ध’, ‘धर्म’ र ‘संघ’ (म बुद्धको शरणमा जान्छु, म धर्मको शरणमा जान्छु, म संघको शरणमा जान्छु)लाई आधार मानेर डिजाइन तयार गरिएको छ।’
शाक्यका अनुसार अण्डरग्राउन्ड पार्किङ, पहिलो तलामा क्युरिओका सामानहरु बेच्ने पसल, सार्वजनिक शौचालय, प्रदर्शनी कक्षहरु पनि रहने छन्। पार्कमा अपाङ्गमैत्री, बालबालिकाका लागि खेल्ने ठाउँ, ज्येष्ठ नागरिकका लागि आराम गर्ने स्थान पनि रहनेगरी डिजाइन तयार पारिएको छ।
डिजाइन अनुसार माथिल्लो तलामा २ सयजति अटाउने ध्यानकेन्द्र रहने छ। ध्यानकेन्द्र विभिन्न आध्यात्मिक कार्यक्रमका लागि उपयोग गरिने छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेवित्तिकै पुगिने ठाउँ भएकाले पनि तीनकुनेमा निर्माण हुने बुद्धपार्कले पर्यटकलाई आकर्षित गर्ने र सहरको सौन्दर्य बढाउन उपयुक्त स्थान हुने उनको भनाइ छ।
‘सार्वजनिक जग्गा संरक्षण गर्ने नीति अनुसार पनि हामीले तीनकुनेमा अत्याधुनिक बुद्धपार्क निर्माण गर्न चाहेको हौँ,’ उनले भनिन् ‘तयार डिजाइन अनुसार तीनकुनेको बीचमा १३ मिटर अग्लो र ९६ मिटर व्यासका गुम्बज आकारको संरचना रहने छ। त्यही गुम्बज आकारमा करिब १६ मिटर अग्लो बुद्धको मूर्ति रहने छ। मूर्तिको बेस १२ मिटर व्यासको रहने छ। बुद्धमूर्तिको तल ६ मिटर चौडाईको धर्म–परिक्रमा चक्र रहने छ।’
काठमाडौं महानगरपालिकाले मुआब्जा विवाद सुल्झाउन महानगरपालिककै कार्यकारी निर्देशक दिपक अधिकारीलाई प्रारम्भिक अधिकारी तोकेको छ।
अधिकारीले आफूले उक्त जिम्मेवारी पाएपछि प्रारम्भिक प्रतिवेदन जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई बुझाई सकेको जानकारी दिए।
‘मैले तीनकुनेको जग्गाका बारेमा भएको विवाद, ३५ रोपनी मध्ये २१ रोपनी जग्गाको मुआब्जा दिइसकेको, नेपाल सरकारले पठाएको १५ करोड मध्ये १० करोड ८० लाख वितरण गरेको बाँकी रकम फिर्ता पठाएको लगायतका विषय समावेश गरेर प्रारम्भिक प्रतिवेदन प्रमुख जिल्ला अधिकारीलाई बुझाएको छु,’ अधिकारीले भने।
मुआब्जा दिन र अधिग्रहण गर्न बाँकी रहेको जग्गाको एकीन तथ्याङ्क निकाल्न नापी र मालपोतसँग समन्वय गर्न पनि प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेको उनले बताए। छिट्टै यस विषयमा प्रमुख जिल्ला अधिकारी, नापी र मालपोतका अधिकारीसँग महानगरले छलफल गर्ने उनले जानकारी दिए।