बुटवल-बेलहिया सडकखण्डको तिलोत्तमा नगरपालिकाको ६ लेन सडकको किनारमा लगाइएका बिरूवा अज्ञात समूहले काटिदिएका छन्।
तिलोत्तमा नगरपालिकाको लगानीमा बुटवल-बेलहिया सडकखण्ड अन्तर्गत मणिग्रामदेखि नयाँमिल तर्फका ३२ वटा स्टोनियाका बिरूवा गएराति अज्ञात समूहले काटेको नगरपालिकाले जनाएको छ।
सडकलाई हरियाली बनाउन गत वर्ष लगाइएका ३२ वटा बिरूवा ३ जनाको समूहले मिलेर काटेको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए।
‘राती ३ जनाको समूहले मिलेर काटेको त्यहाँ रहेको सिसिटिभी फुटेजबाट देखिएको छ,’ नगरप्रमुख घिमिरेले भने।
गत वर्ष लगाइएका हुर्कंदै गरेका बिरूवाका हाँगा र फेदैबाट समेत काटिएको घिमिरेले बताए।
गत वर्ष साउन २ गते सोही सडकको शंकरनगर चोकदेखि नयाँमिलसम्म मेडिएनमा राखिएका ५ वटा मूर्ति क्षतविक्षत हुने गरी फुटाइएको थियो।
ती मूर्ति कसले किन फुटाल्यो भन्ने एक वर्ष पूरा हुन लाग्दा समेत खुलेको छैन।