काठमाडौं उपत्यकामा सोमबार एकै दिन ५४ जना संक्रमित भेटिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं जिल्लामा २४, ललितपुरमा २० र भक्तपुर जिल्लामा १० जना संक्रमित भेटिएको जानकारी दिए।
यी संक्रमित कुन कुन ठाउँका हुन् भन्नेबारे भने मन्त्रालयले खुलाएको छैन।
काठमाडौं उपत्यकाको समुदायमै संक्रमण फैलिए/नफैलिएको भन्ने सम्वन्धमा मन्त्रालयले विभिन्न १० ठाउँबाट नमूना स्वाब संकलन गरी परीक्षण थालेको छ।
यी १० ठाउँमध्ये पहिलो चरणमा तीनकुने र नख्खुडाेलका २२८ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षण गरिएको थियो। परीक्षण गरिएका सबैको नतिजा नेगेटिभ आएको गौतमले बताए।
अन्य विभिन्न ठाउँबाट पनि स्वाब लिने र परीक्षण गर्ने क्रम चलिरहेको उनले बताए। ‘अन्य ठाउँको पनि परीक्षण रिपोर्ट आउने क्रम जारी छ’ उनले भने।