महानगरीय प्रहरी वृत महाराजगञ्जले बुधबार विहान चोरीको आरोपमा सामाखुसीबाट नियन्त्रणमा लिएको छ।
रामेछापको उमाकुण्ड गाउँपालिका २ घर भई काठमाडौंको चण्डोलमा बस्दै आएका २६ वर्षीय राजकुमार दनुवारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दनुवारमाथि प्रारम्भिक अनुसन्धान गर्दा प्रहरीले रोचक तथ्य फेला पारेको छ। उनले दिएको वयान सुनेर कतिपय प्रहरी अचम्मित भएका थिए।
राजकुमारकै चोरीका कारण उपत्यकाको प्रहरी हैरान भएका थिए। विभिन्न स्थानबाट संकलन गरिएका सिसिटिभी फुटेजका कारण उनी प्रहरी नियन्त्रणमा परेका हुन्।
उनले पार्किङमा राखेको महँगो मूल्य पर्ने मोटरसाइकल चोर्ने, त्यही मोटरसाइकलमा राम्री युवतीहरूलाई लिफ्ट दिने र तिनै युवतीको रकम र मोबाइल लुट्ने गरेको डिएसपी रोशन खड्काले बताए।
त्यत्तिमात्रै होइन लुटिएको सो मोबाइल बेचेर फेरि आफू प्रहरीको डिएसपी भन्दै उनले सो मोबाइल माग्ने गरेको अनुसन्धानबाट खुल्न आएको उनले बताए। खड्काका अनुसार केही दिन अघि उनले गंगबुको एक गेष्ट हाउसअघि पार्किङ्ग गरिराखेको एक बुलेट बाइक चोरी गरे।
त्यसपछि सोही मोटरसाइकलमा युवतीलाई लिफ्ट दिए। लकडाउनको बेला सवारी साधन नचलेको फाइदा उनले उठाएका थिए। युवतीलाई लिफ्ट दिएपछि चिया कफी खाउँ भन्दै उनले रेस्टुरेन्टमा लैजान्थे।
रेस्टुरेन्टमा युवती वासरुम गएको मौका छोपेर उनले युवतीको मोबाइल र पर्स नै लुट्ने गरेको डिएसपी खड्काले बताए। युवतीबाट लुटेको मोबाइल सस्तो रुपैयाँमा उनी बेच्थे। मोबाइल बेचेको दुईचार दिनमा नै आफू प्रहरीको डिएसपी भन्दै मोबाइल किन्नेलाई फोन गरेर त्यो मोबाइल फेरि माग्थे।
फेरि अर्को व्यक्तिलाई सो मोबाइल बेचेर त्यस्तै काम गर्ने गरेको डिएसपी खड्काले बताए। उनले युवतीसँग लुटेको एउटै मोबाइल दर्जनाैंलाई बेच्ने गरेकाे खुल्न आएको खड्काले बताए।
उनी विरुद्ध अहिलेसम्म ११ जनाले जाहेरी दिएका छन्। २१ जना युवतीको मोबाइल चोरी गरेको दनुवारले स्वीकार गरेको प्रहरीले जनाएको छ।