रुपन्देहीको तिलोत्तमा नगरपालिकाका बासिन्दाले सडक मर्मत नगरेको भन्दै हिलाम्मे सडकमै रोपाइँ गरेर विरोध जनाएका छन्।
बुटवल भैरहवा सडकखण्डको तिलोत्तमास्थित पत्थरडाँडादेखि तीनधुरा जाने सडक वर्षाका कारण हिलाम्मे भएको छ।
सडक मर्मतको लागि स्थानीयले पटक/पटक वडा कार्यालय र नगरपालिकालाई आग्रह गरे पनि वेवास्ता गरेको भन्दै विरोध स्वरूप सडकमै रोपाइँ गरेको बताए।
स्थानीय अभिषेक न्यौपानेले तिनाउ नदीबाट गिट्टीबालुवा बोकेर सयौं टिपर र ट्रयाक्टर गुड्ने सडक मर्मत नगरिँदा वडा नं. १३ र १४ का बासिन्दालाई सास्ती भएको बताए।
यही सडकको प्रयोग गरी गिट्टी बालुवा बोक्ने टिपर र ट्रयाक्टरबाट लाखौं रकम असुल गर्ने गरे पनि नगरपालिकाले सडक मर्मतमा चासो नदिएको उनले गुनासो गरे।
वर्षौंदेखि सडक मर्मत नगरिँदा सडकमा ठूलाठूला खाडल परेका छन्। त्यही सडकमा वर्षाको पानी र हिलो जम्दा सडक हिलाम्मे बनेको छ।
हिलो सडकमा मोटरसाइकल र साइकल यात्रीले सबभन्दा बढी सास्ती पाएका छन्।
पानी र हिलो जमेको सडकमा परेको खाडलमा परी दैनिक दुर्घटना समेत हुने गरेको स्थानीयले बताए।