पहिरो खसेपछि सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडक खण्ड सोमबार साँझदेखि अवरूद्ध भएको छ। सोमबार साँझ ५ बजेतिर उक्त सडक खण्डको पाल्पाको तिनाउ गाउँपालिका दोभानमा पहिरो खसेको थियो।
पहिरोसँगै माथिबाट ठूलो ढुङ्गासमेत सडकमा खसेकोले पहिरो हटाउन नसकिएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।
दोभान प्रहरी चौकी नजिकै खसेको उक्त ढुङगा हटाउन ब्रेकरले ढुङ्गा काट्नु पर्ने भए पनि ब्रेकर मंगलबार बिहानसम्म पुगेको छैन।
ट्राफिक प्रहरीका अनुसार ब्रेकरले ढुङ्गा काटेर पहिरो हटाउन सोमबार साँझ नै डिभिजन सडक कार्यालय बुटवललाई भने पनि सोमबार रात परिसकेको भन्दै नगएको बुझिएको छ। रातिदेखि अहिलेसम्म निरन्तर पानी परिरहेकोले पनि पहिरो हटाउन समस्या भएको छ।
पानी परिरहेकोले डिभिजन सडक कार्यालयले मेसिन पठाउन नसकेको प्रहरीले जनाएको छ। पहिरोको कारण सडक अवरुद्ध भएपछि उक्त सडकखण्डमा गुड्ने सवारी साधन बाटोमै अलपत्र परेका छन्।