स्याङ्जामा पहिरोमा परी घाइते भएका पूर्वगाविस अध्यक्षको मृत्यु भएको छ।
मंगलबार बिहान कालिगण्डकी गाउँपालिका-४स्थित खानेपानीको मुहान बनाउन गएका ६ जनामाथि पहिरो खसेको थियो। त्यसमा तीन जना घाइते भएका थिए।
सोही गाउँपालिका बस्ने ६५ वर्षीय पूर्वगाविस अध्यक्ष ईमानसिंह राणाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।
'पहिरोमा परी घाइते भएकामध्ये एक जना गम्भीर थिए,' डिएसपी अधिकारीले भने,'उनलाई अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरे।'
त्यस्तै अन्य दुई जनाको उपचारका लागि पाल्पाको मिसन अस्पतालमा रिफर गरिएको छ।
'उहाँहरूको अवस्था पनि गम्भीर छ र थप उपचारको लागि पाल्पा पठाइएको छ,' उनले भने।
घाइते हुनेमा ६८ वर्षीय वडा नम्बर ४ का वडा सदस्य हुमानाथ पाण्डे र ५५ वर्षीय विरबहादुर राणा छन्।
पहिरोमा पुरिएका अन्य तीन जना अझै फेला परेका छैनन्।
बेपत्ता हुनेमा प्रेम चन्द पाण्डे, जिमानसिंह थापा र टीकाबहादुर थापा छन्। उनीहरूको खोजी कार्य भइरहेको छ।
त्यस्तै सोही ठाउँको खहरे खोलामा बाढी आएपछि चार घर परिवारका २३ जनालाई सुरक्षित स्थानमा लगिएको छ।
'बाढी आएपछि चार घर विस्थापित हुने देखिएपछि हामीले उहाँहरूलाई सुरक्षित स्थानमा राख्न लगिसकेका छौं,' डिएसपी अधिकारीले भने,'कहाँ राख्ने भन्ने टुङ्गो लागिसकेको छैन।'